यस बाख्रा विकास फार्म समुद्री सतहबाट १७०० मिटरको उचाईमा अवस्थित रहेको छ । यसको स्थापना वि.सं.२००१ सालमा भेडा विकास फार्मको रूपमा भएको थियो । ३०५ रोपनी क्षेत्रफलमा फैलिएको यस फार्मको जमिन सबै एकनाश नभएर भिर, पाखा, डाँडा, खोल्सा, चरन क्षेत्र र खेतवारीको अवस्थामा छ । यस फार्मले शुरुवातमा स्थानीय कागे भेडा व्यवस्थापन गरि आएतापनि स्थापनाको एक दशक पछिदेखि करीव तीन दशकसम्म विदेशबाट आयात गरिएको रामवुलेट (Rambullet) थुमाबाट स्थानीय कागेभेडीहरूलाई प्रजनन् गराएर वर्णशंकर पाठापाठी उत्पादन गरी काठमाण्डौ, ललितपुर, भक्तपुर लगायत पूर्वमा खोटाङदेखि पश्चिममा वागलुङसम्म ती वर्णशंकर थुमा र पाठीहरू वितरण गरि स्थानीय भेडाहरूको नश्ल सुधारमा उल्लेख्य योगदान दिई आएको इतिहास पाइन्छ । पछि आ.व. २०४३/४४ मा मेरीनो थुमा ल्याई स्थानीय कागे भेडीमा प्रजनन् गराइएतापनि त्यसबाट उत्पादित पाठापाठी राम्ररी हुर्कन नसकेको र मेरीनोको लागि यहाँको हावापानी प्रतिकूल भएको महशुस गरी पुनः रामवुलेट संगको क्रसलाई नै नियमितता दिंदै उन्नत चरनघाँस कक्सफुटको क्षेत्र बृद्धि गरी उक्त घाँसको विउको स्रोतकेन्द्रको रूपमा समेत यस फार्मले कार्य गर्दै आएको थियो ।
नेपालमा वहुदलीय व्यवस्थाको स्थापना भएपश्चात् सरकारले लिएको निजिकरणको नीति अनुरूप आ.व. २०५०/०५१ मा यो फार्म पनि निजिकरणको चपेटामा प¥यो । वार्षिक रू. ४,४४,०००।– कृषि मन्त्रालयलाई बुझाउने गरी मिति २०५०।०३।२९ मा कृषि मन्त्रालय र मकवान मिट प्रोसेसिङ लिमिटेड जावलाखेल, ललितपुर बिच भएको सम्झौता अनुरूप मिति २०५०।०५।२० देखि फार्मको सम्पूर्ण चल अचल सम्पत्ति सहित यो फार्म उक्त मकवान मिट प्रोसेसिङ लिमिटेडलाई १० वर्षसम्म लिजमा सञ्चालन गर्न दिइएको थियो । साथमा गोरू २ वटा, कुकुर १ वटा र विभिन्न जातका भेडाहरू २८४ गरी जम्मा २८७ पशुहरू समेत बुझाइएको थियो । लिजमा लिइसकेपछि उक्त लिमिटेडले भेडाहरूमा गर्नुपर्ने ड्रेन्चिङ, डिपिङ, औषधोपचार, दाना व्यवस्थापन जस्ता व्यवस्थापकीय कार्य राम्ररी नगरेको र आफ्नै कमीजोरीको कारणले फार्मले सन्तोषजनक कार्यहरू गर्न सकेन, फलस्वरूप फार्म अत्यन्तै जीर्ण अवस्थामा रह््यो । परिणामस्वरूप कृषि मन्त्रालय र मकवान मिट प्रोसेसिङ लिमिटेड बिचको सम्झौता भंग भई मिति २०५१।०६।०१ देखि फार्मको सम्पूर्ण कार्य तत्कालिन कृषि विकास विभागको मातहत हुनेगरी मिति २०५१।०६।१२ मा मकवान मिट प्रोसेसिङ लिमिटेडले बरबुझारथ ग¥यो । तर बरबुझारथमा विभिन्न जातका भेडाहरू १०४, गोरू २ र कुकुर १ गरी जम्मा १०७ पशुहरूमात्र बुझाइयो । यसरी नपुग १८० गोटा भेडाहरूको मूल्य रू. १,००,३७५।–, खर्च भएर जाने जिन्सी सामानको रू. ८,१४०।–, विद्युत महसुल रू. १४,३१४।– र ल्याण्डरोभर गाडीको पार्टपूर्जा नोक्सानी गरेवापतको रू. १,१८,४००।– गरी कूल जम्मा रू. २,४१,२९९।– को हानी नोक्सानी गरेको पाइयो भने उक्त लिमिटेडले सानन वोका बाख्रा ५ र विभिन्न जातका खरायो ९ गरी रू. ६,७००।– बराबरको वस्तु छोडेर गएको थियो । यसरी एक वर्षको अवधिमै निजिकरणको कारण क्षतविक्षत अवस्थामा फिर्ता आएको फार्म आ.व. २०५७।०५८ सम्म आइपुग्दा कम्प्युटर, फ्रिज, माइक्रोस्कोप, फोटोकपी मेसिन, कार्यालय भवन, बाख्रा गोठ, मोटरसाइकल लगायतका भौतिक सुविधा उपलब्ध हुन सकेको थियो । हालसम्मको अवस्थामा आईपुग्दा फार्म प्रबन्धकको नयाँ आवास निर्माण भई राणाकालिन भवनको बसाईबाट मुक्ती मिलेको छ र नयाँ बाख्रा खोर समेत निर्माण भएको छ ।
नेपालमा भेडाहरूको संख्या वर्षेनी घट्दै गइरहेको र भेडापालक कृषकहरू पनि घटिरहेको अवस्थामा यस फार्मलाई भेडा भन्दा पनि बाख्रामा परिणत गर्नुपर्ने आवश्यकतालाई महशूस गरी आ.व. ०५६।०५७ बाट भेडा हटाइए र पशु सेवा विभागको विभागीय निर्णय अनुसार २०५६।४।१६ बाट बाख्राको शुरुवात भयो । मन्त्रीपरिषदको निर्णय अनुसार वि.सं. २०५८ सालबाट यस फार्मलाई विधिवत रूपमा बाख्रा विकास फार्ममा रूपान्तरित गरियो । बाख्रा विकास फार्ममा रूपान्तरीत भएदेखि नै यस फार्ममा स्थानीय खरी जातको बाख्राको जातीय संरक्षण गर्ने र सानन वर्णशंकर जातका बाख्रा व्यवस्थापन गरी बाख्राको मासु र दुध उत्पादनलाई अभिबृद्धि गर्ने उद्देश्यका साथ फार्मले तदनुरूपका कार्यहरू गरी आएको छ । गत आ.व. मा कृषि तथा खाद्य सूरक्षा आयोजनाबाट सानन शुद्ध जातका ५ वोका र १० पाठी यस फार्मलाई निशुल्क प्राप्त भएको छ । यी शुद्ध जातका साननका वोका पाठीको माध्यमबाट फार्ममा शुद्ध सानन र सानन वर्णशंकर वोका पाठीहरु उत्पादन गरी भविष्यमा फार्मलाई डेरी गोट स्रोत केन्द्रको रूपमा विकसित गर्दै जाने र फार्ममै चिज उत्पादन पनि गर्ने सोच रहेको छ ।