Published Date : 2020-02-02

हिउँदको समयमा हरियो घाँस आपूर्ति गर्न वर्षेनी जै घाँस खेती गरिन्छ । हावापानीको दृष्टिकोणले यस फार्ममा हिउँदे भुईघाँसमा जै घाँस नै उत्तम रहेको छ । यस बाहेक फार्ममा सुम्बा सेटारीया,सेटारीया, पारा, नेपियर(मोठ,सिओ३,सिओ४),ग्वाटेमाला, बदामे, टल्फेस्क्यू, कक्सफुट, सेतो क्लोभर, पासपालम, मोलासेस पनि रहेको छ । दुईवर्ष पहिले रसुवाबाट वीउ ल्याई राईघाँस पनि लगाइएको छ र यसको उमार राम्रो भएर पनि फैलावट उत्साहवर्धक देखिएको छैन । यस फार्म क्षेत्रमा हिउँदमा अत्यधिक मात्रामा तुषारो पर्ने हुँदा स्टाइलो, नेपियर, किम्वु, अमृसो जस्ता घाँसहरू हुर्काउन असंभव प्राय भएको छ । डालेघाँसहरूमा फलाँट नै प्रमुख घाँसको रूपमा पाइएको छ भने दुधिलो, बाँझ, टाँकी, कोइरालो, बकाइनो पनि धेरथोर संख्यामा रहेका छन् । यसवर्ष लहरे पिपल, वैंश, इपिलइपिल, बाँस (निगालो) र अमृसो बृक्षारोपण गरिएको । गतवर्ष लगाइएका विरुवाहरु ८०% बढी सरेपनि यिनिहरुको बृद्धिदर संतोषजनक देखिएको छैन । हिउँदको सुक्खा समयमा हरियो र पोषिलो आहारा आपूर्ति व्यवस्थापन गर्न चुनौति भैरहने अवस्थामा जै घाँसले निकै राम्रो सहयोग गरेको छ भने तुषारोको सिजन बाहेकको अवस्थामा नेपियरबाट राम्रो सहयोग हुने गरेको छ । यस वाहेक वर्षामा प्रशस्त मात्रामा हुने हरियो घाँस काटेर सुकाएर हे बनाई राख्ने गरिएको छ र यसबाट पनि उल्लेख्य सहयोग हुने गरेको छ ।

Website Views: